काठमाडौँ – नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो । यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिनु भएको थियो । बैठकपछि गृहमन्त्री थापा उम्मेद्वारी मनोनयनका लागि वागमती प्रदेशको राजधानी हेटौंडातर्फ लाग्नु भएको छ ।
आज बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेता सुवास नेम्वाङले जानकारी दिनुभएको छ ।‘उहाँ रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय भयो र उहाँ उम्मेदवारी दिन त्यसतर्फ हिँडिसक्नुभयो,’ नेम्वाङले माधव नेपाल पक्षका नेताहरुको कारवाही फिर्ताबारे भने कुनै निर्णय भइनसकेको बताउनुभयो । नेता नेम्वाङका अनुसार,‘अरु विषयमा आन्तरिक छलफल भएको छैन । निर्णय भैसकेको छैन ।’
विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टीका उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी दिँदै हुनुहुन्छ । अब यो पदमा बादल र देवकोटाको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।