काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष ओलीसँग कुनै सहमति नभएको प्रस्ट पार्नु भएको छ । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले आफुहरु सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा एकताबद्ध एमाले चाहाने भन्दै त्यसका लागि वार्ता र लचकता अपनाउने तर अहिलेसम्म कुनै सहमति नभएको बताउनु भएको हो । ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन’, नेता नेपालको भनाई रहेको छ ।
उहाँले वि.सं. २०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुका साथै २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै बटम लाइन भएको पनि प्रस्ट पार्नु भएको छ । ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअलमलिन र सुदृढ तथा सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं’, नेता नेपालको प्रष्टिकरण छ ।