काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनि बैशाख २७ गते सोमबारको लागि बोलाईएको विशेष अधिवेशनलाई लक्षित गर्दै बुधबार र बिहीबार सङ्घीय सांसद्, संसद् सचिवालयमा कार्यरत कर्मचारी र संसद्को रिपोटिङ्ग गर्ने सञ्चारकर्मीहरुको कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरेको छ । उक्त परीक्षण गर्दा जसपाका सांसद् लक्ष्मणलाल कर्णलगायत चार जना सांसद् र दुई जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।
कोरोना भाइरसको सङ्क्रमण कुनै पनि अवस्थामा देखिन सक्ने भन्दै सचिवालयले सांसद्, त्यहाँ कार्यरत कर्मचारी र अधिवेशको रिपोर्टिङ्ग गर्ने सञ्चारकर्मीहरुको ३÷३ दिनमा स्वाब सङ्कलन र पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको संसद् सचिवालयले जनाएको छ । पछिल्लो समय उपत्यका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेकोले संसद् भवनलाई कडा निगरानीमा राखिएको छ ।
सचिवालयले सुरक्षा कवजलाई बलियो बनाउन सामाजिक दूरी कायम गर्दै प्रतिनिधिसभा सदस्यहरुले आफु बस्ने सिटबाहेक अर्कोमा बस्न नपाउने व्यवस्था मिलाएको छ । सांसद्हरुले अनिवार्य माक्स लगाउनु पर्ने, पाका र दीर्घरोग भएका सांसद्हरुलाई विशेष निगरानीमा अलग्गै राख्ने, सङ्क्रमित हुन पुगेका सांसद्हरुलाई आइसोलेशनमा राख्ने व्यवस्था गरिएको सचिवालयले जनाएको छ । यसका अतिरिक्त संसद सचिवालयमा रहेको चिकित्सक टोलीले हरेक दिन सांसद् र कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरी सुरक्षा अवस्था हेरेरमात्र संसद् भवनमा प्रवेश गर्न दिने भएको छ ।