काठमाडौं –पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्मकै उच्च सङ्क्रमित पुष्टि भएको हो । यसअघि बुधबार देशभर ८ हजार ६ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ५८ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३ सय ६७ र एन्टिजेन विधिबाट ७ सय ७५ जनाको परीक्षण गर्दा क्रमशः  ८ हजार ९ सय ७० र १ सय  जनामा सङ्क्रमण पुष्टि भएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् । 
यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ३ लाख ६८ हजार ५ सय ८० र निको हुनेको कुल संख्या  २ लाख ९२ हजार ४ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ५ सय २९ पुगेको छ ।  देशभर सक्रिय सङ्क्रमितको संख्या ७२ हजार ५ सय ६१ पुगेको छ भने सङ्क्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ । पछिल्लो समय दिनहुँ सङ्क्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।