काठमाडौं – जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ललितपुरले चार वटा अस्पताललाई बिहीबार अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । विभिन्न प्रतिष्ठान तथा कवाडी पसलहरुबाट सङ्कलित अक्सिजन सिलिण्डर कोरोना सङ्क्रमित बिरामीको उपचार गराइरहेका ४ वटा अस्पताललाई वितरण गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० थान, इमाडोलस्थित किष्ट अस्पताललाई ३० थान, चापागाउँमा रहेको बज्रबाराही अस्पताललाई १० थान र जाउलाखेलमा रहेको अल्का अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर उपलब्ध गराइएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरले सङ्कलन गरेको अक्सिजन सिलिण्डर बिहीबार बसेको डीसीसीएमसीको बैठकले सङ्क्रमितको चाप रहेको अस्पताललाई उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार संकलित १०५ थान अक्सिजन सिलिण्डर आवश्यकता अनुसार अस्पताललाई वितरण गरिएको उनले बताए । अक्सिजन अभावमा सङ्क्रमितको उपचारमा समस्या आएपछि सरकारले सबै उद्योगी, व्यवसायी र सरोकारवालालाई अक्सिजन सिलिण्डर फिर्ता गरिदिन आग्रह गरेको थियो ।