काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिने नाममा असंवैधानिक बाटोतिर जान खोजेको दावी गर्नु भएको छ । बिहीबार संसद भवन नयाँवानेश्वर परिसरमा पत्रकारसँग कुरा गर्दै नेता पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाउने पनि जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद्को विशेष अधिवेशन बोलाइएको छ । नेता पुनले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनुहुन्न र अरु कुनै बाटोतिर, असंवैधानिक बाटोतिर जान खोज्नुभएको छ ।’
त्यो बाटो के हो ? भन्ने प्रश्नमा पुनले फेरि संसद विघटन गर्न प्रधानमन्त्रीले प्रयास गरेको बताउनुभयो । ‘‘विश्वासको मत नपाएको दिन नै संसद विघटन गर्ने र अरु ठाउँमा राजनीतिलाई विषयान्तर गर्ने, फेरि अराजनीतिक, असंवैधानिक, अलोकतान्त्रिक ढङ्गले काम गर्न खोज्नुभएको छ भन्ने एकदम स्पष्ट छ ।’ यही देखेर आफूहरुले सरकारलाई दिएको समर्थन लामो समयसम्म फिर्ता नलिएको उहाँको स्पष्टीकरण छ । आफूहरुले सरकारलाई दिएको समर्थन कायम राखेका कारण प्रधानमन्त्री ओलीले बाध्य भएर विश्वासको मत लिन खोजेको पुनको दाबी छ ।
‘हामीले समर्थन फिर्ता लिएपछि यी फिर्ता लिए, मलाई अस्थिर बनाए भन्नुहुन्थ्यो, हामीले समर्थन गरिराखेको हुनाले बाध्य भएर आफ्नो वास्तविक राजनीतिक चरित्र देखाउनुभएको हो’ नेता पुनले भन्नुभयो । ओलीले संसदमा विश्वासको मत नपाएपछि दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने नेता पुनले बताउनु भएको छ । ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि दुई वा दुई भन्दा बढी दलहरुको सरकार बन्नेतर्फ मार्गप्रशस्त गर्नुपर्छ, त्यसअनुसार राष्ट्रपतिले आह्वान गर्नुपर्छ ।’
कांग्रेस, माओवादीले नयाँ सरकार बनाउन सक्छ ? भन्ने प्रश्नमा नेता पुनले भन्नुभयो, ‘हामी संवैधानिक विकल्पभित्र खुल्ला छौं ।’ कोरोना महामारीमा भन्दा सरकार अन्यत्र केन्द्रित भएको भन्दै उहाँले प्रधानमन्त्री ओलीको आलोचना गर्नुभएको छ । देशको अभिभावकले सबै दल, सबै क्षेत्रलाई कोरोना रोकथाममा सहकार्य गरौं, सर्वपक्षीय संयन्त्र बनाऔं, राजनीतिक मतभेद थाती राखौं भन्नुपर्नेमा त्यसो नभनेको उहाँको भनाइ छ ।