कोभिड–१९ महाव्याधिबाट बच्न जारी निषेधाज्ञाका समयमा धार्मिक संस्था, सन्त, महात्मा, योगी, भिक्षु, पुजारी सहितका धर्मगुरुलाई सहयोग गर्न सनातन धर्म महासङ्घले माग गरेको छ । धार्मिक संस्थामा आश्रितलाई निषेधाज्ञाका कारणले कस्तो असर परेको छ भन्ने सोधखोज गरी आवश्यक मद्दत गर्न सङ्घीय, प्रादेशिक एवं स्थानीय सरकारसँग महासङ्घका प्रवक्ता राजन अधिकारीले आज विज्ञप्ति प्रकाशित गरी सो माग गर्नुभएको हो । निषेधाज्ञाका कारण धार्मिक संस्थामा आश्रितलाई सहयोग जुट्ने क्रम कम हुन थालेकाले तीनै तहका सरकारलाई आह्वान गरिएको उहाँले बताउनुभयो । धार्मिकस्थलमा आश्रित व्यक्ति तथा गुरुकुलका विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारी तथा अन्य सहयोगीलाई निषेधाज्ञा वा बन्दको समयमा पनि नियमित दान दिइरहन महासङ्घले भक्तजनलाई अनुरोध गरेको छ । कोरोना भाइरस महाव्याधिका कारणले बढ्दै गएको सङ्कटको अवस्थामा विपन्न वर्ग, असहाय तथा पीडितलाई गच्छेअनुसार दान, सहयोग एवं मद्दतको लागि अग्रसर हुन पनि महासङ्घले धार्मिक समुदायलाई आह्वान गरेको छ । नेपालका कैयौँ आश्रम, मठ, मन्दिर, गुरुकुल लगायतले विपन्न वर्ग तथा असहाय व्यक्तिका लागि खाना, आयुर्वेदिक औषधि लगायतका सामग्री वितरण गरिरहेकामा उक्त प्रशंसनीय कामको सराहना गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । देशभरिका आश्रम, मठ, मन्दिर, गुम्बा, चैत्य, विहार लगायतका धार्मिक, सांस्कृतिक स्थलमा उपलब्ध भौतिक संरचनालाई सम्भव भएसम्म स्वास्थ्य प्रयोजनका लागि सदुपयोग गर्न÷गराउन पनि महासङ्घलले अपिल गरेको छ ।