काठमाडौं– नेकपा(माओवादी)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । भरखरमात्र सकिएको स्थायी समितिको बैठकले उक्त निर्णय गरेता पनि भोली बुधबारमात्र आधिकारी रुपमा समर्थन फिर्ता लिएको पत्र बुझाउने पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिनुभएको छ । यस अघि सरकारलाई दिएको समर्थन र्फिता लिने एकल निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको थियो ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ स्थित निवासमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको छ । उक्त कुराको जानकारी पार्टीका सह–महामन्त्री डा प्रकाशशरण महतले दिनु भएको हो ।
प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपति विद्या भण्डारीले अधिवेशन आह्वान गर्नु भएको हो । नेकपा (माओवादी) ले पनि प्रधानमन्त्रीको उक्त कदमलाई राम्रो उद्देश्यले नभै षडयन्त्रको गन्ध रहेको ठहर गरेको छ । आज पार्टी कार्यालय कोटेश्वरस्थित पेरिस डाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको हो ।