काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद भएको छ । बूढानीलकण्ठ स्रोतका अनुसार सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब २० मिनेट टेलिफोन संवाद भएको थियो । सोमबार काँग्रेस पदाधिकारी बैठकपछि देउवा–प्रचण्डबीच भेटवार्ता हुने कार्यक्रम भए पनि काँग्रेस बैठक स्थगित भएपछि अपरान्ह टेलिफोनबाटै संवाद भएको हो । टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिएको थियो ।
साथै, लुम्बिनी प्रदेशमा देखिएको राजनीतिक सङ्कटका विषयमा पनि छलफल केन्द्रित भएको स्रोतले जनाएको छ । प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतका अनुसार, ‘अविश्वासको प्रस्ताव दर्ताका लागि हामी जोड दिँदा पनि तपाईंले अविश्वास र आशङ्का मात्र गर्नुभयो, अब केपी ओलीजी आफैं विश्वासको मत दिनु तम्सिनुभयो । अब हाम्रो रणनीति के हुन्छ ?’ स्रोतका अनुसार जवाफमा देउवाले आज मंगलबार दिउँसो २ बजेपछि बस्ने पार्टी पदाधिकारी बैठकपछि थप छलफलमा गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
प्रचण्डले निर्धक्कका साथ ओलीको विकल्पका रुपमा खडा हुन देउवालाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने कुरा सँगसँगै आगामी रणनीति तय गर्न देउवालाई प्रचण्डले आग्रह गरेको स्रोतले जनाएको छ । यसैबीच आजै पार्टी पदाधिकारी तथा संसदीय फाँटका पदाधिकारी र शीर्षस्थ नेतासँग देउवाले छलफल गर्दैछन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा आजको पदाधिकारी बैठकमा छलफल हुने बताएका छन् ।
पदाधिकारी बैठकपछि देउवाले ओली इत्तर कित्तामा देखिएका राजनीतिक दलका नेताहरुसँग संवाद गर्ने बुझिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पनि देउवासँग निरन्तर संवादमै रहेको पाइएको छ । जसपामा प्रधानमन्त्री ओलीको विकल्प खोज्ने विषयमा दुई मत देखिँदा यादव नयाँ सरकार निर्माणका लागि अग्रसर देखिएका छन् । यादवले अविश्वासको प्रस्तावका लागि देउवा अग्रसर भए तत्कालै १९ जना सांसद हस्ताक्षर गर्न तयार रहेको जनाकारी दिएको बुझिएको छ । देउवा र प्रचण्डले एमाले नेता माधव नेपालसँग २७ गतेअघि नै गम्भीर वार्ता गर्न पनि अध्यक्ष यादवले सुझाएको स्रोतको भनाई छ ।