कोरोना भाइरसविरुद्धको खोप पहुँच विश्वका गरिब देशमा पनि समान रुपमा पु¥याउने अभियानका लागि थप ३५–४५ अर्ब डलर आवश्यक पर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । धनी देशमा जस्तै गरिब देशका नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने व्यवस्थाका लागि सुरु गरिएको अन्तर्राष्ट्रिय प्रयास कोभ्याक्सका लागि थप रकमको खाँचो रहेको डब्लुएचओले बताएको हो । गत वर्ष कोरोना भाइरस विरुद्धको खोपमा विश्वका सबै देशको पहुँच होस् भन्ने उद्देश्यसहित कोभ्याक्स अभियान सुरु गरिएको थियो । तर खोपको पहुँचलाई लिएर विश्वका धनी तथा गरिब देशबिचको गम्भीर असमानता कायम छ ।

अहिलेसम्म कोभ्याक्स अभियान अन्तर्गत विश्वका विभिन्न देशमा कोरोना भाइरसविरुद्धको खोपको चार करोड ९० लाख मात्रा पठाइएको छ । आउँदो वर्षसम्म अधिकांश वयस्कलाई खोप दिनका लागि अभियानलाई थप ३५–४५ अर्ब अमेरिकी डलर बराबरको रकम चाहिने डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् । डब्लुएचओ, ग्लोबल भ्याक्सिन अलायन्स (गावी) र कोअलिसन फर इपिमेमिक प्रिपेअर्डनेश इनोभेशन (सिपी) को संयुक्त नेतृत्वमा कोभ्याक्स अभियान सुरु भएको हो । यो अभियानमा संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले कार्यान्वयनका लागि साथ दिएको छ ।

डब्लुएचओ प्रमुख डा. टेडरोजले धनी देशहरुले कोभ्याक्सलाई ओझेलमा पारेको आरोप लगाएका छन् । आफ्ना नागरिकका लागि आवश्यक पर्ने भन्दा निकै धेरै खोप मौज्दातमा राखेका कारण गरिब देशहरुमा खोप अभियान रोक्नु पर्ने अवास्था वा अति सुस्त गतिमा सञ्चालन गर्नु परेको उनले बताएका छन् । विश्वभर हालसम्म लगाइएका खोप मध्ये गरिब देशले एक प्रतिशत भन्दा पनि कम पाएको उनले बताएका छन् ।