काठमाडौं– चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताउनु भएको छ । उपभोग्य खाद्यबस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले जानकारी दिनुभयो । महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद संचयमा पनि आग्रह गर्नु भएको छ ।  
खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उहाँको भनाई छ । उहाँका अनुसार, ‘चामल, दाल, नुन, तेल, चिनी लगायतका न्युनतम बस्तुको स्टक करिब ३ महिनालाई अझैपनि हामीलाई सप्लाइमा समस्या छैन । नआएपनि पुग्छ । खाद्य पद्धार्थको आपुर्ति सहज छ । उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनु भो भने मुल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन ।’ दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मुल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउनेलाई कारबाही गरिने महानिर्देशक पौडेले बताउनु भयो  । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उहाँको भनाइ छ । 
 पौडेलका अनुसार, ‘विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ । बजारमा बस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्यवृद्धि लगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ ।’ दैनिक उपभोग्य वस्तुको आयातमा कुनैपनि प्रकारको समस्या छैन । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने बजारमा आपुर्तिको समस्या नभएपनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको बताउनु भएको छ । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित काराकारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाको अभिव्यक्ति छ ।