काठमाडौं – नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश समितिले  ‘कोभिड–१९ उपत्यका संयोजन समिति’ (सिभिसिसी) गठन गरेको छ । कोभिड–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड सङ्क्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय लगायतको कार्य गर्न सो समिति गठन गरिएको महासचिव टेनिस रोकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपत्यका प्रदेशले अध्यक्ष श्रीजन झाको संयोजक रहने गरी महासचिव टेनिस रोका, सचिव रोशन पाण्डे र सदस्य विष्णु निश्चलसहित तीन जिल्लाका अध्यक्षहरु सदस्य रहेको सिभिसीसी गठन गरेको हो । 
महासङ्घले कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै ‘उपत्यका प्रदेश पत्रकार कोभिड राहत कोष’ पनि गठन गर्ने निर्णय गरेको छ । कोषाध्यक्ष अर्जुन पन्त संयोजक र सदस्यहरुमा रत्न श्रेष्ठसहित तीन जिल्लाका कोषाध्यक्ष रहने गरी कोष स्थापना गरिएको हो । कोषमा जम्मा हुने रकम मापदण्ड बनाएर हस्पिटलमा भर्ना भएका कोभिड सङ्क्रमित श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराइने महासचिव रोकाले जानकारी दिनुभएको छ ।
सोहीबारे निर्णय लिन सोमबार बसेको बैठकले सञ्चार गृहहरुलाई श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सेवा सुविधा नियमित गराउन अनुरोध गर्दै कोरोनाको बहानामा जबरजस्ती निष्कासित नगर्न र बिदामा नराख्न आग्रह गर्ने निर्णय भएको महासङ्घको आग्रहलाई बेवास्ता गर्दै नियमित सेवा सुविधा उपलब्ध नगराइए, निष्कासित वा बिदामा राखिएको पाइएमा आन्दोलनमा जाने निर्णय पनि गरेको छ । उपत्यका प्रदेशले फिल्डमा खटिने पत्रकारहरुलाई सरल र सुलभ तरिकाले पिसिआर टेस्ट, कोभिड विरुद्धको खोप र स्वास्थ्य र सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।