काठमाडौँ– राष्ट्रिय जनगणनाको अन्तिम तयारी पूरा हुनै लाग्दा सरकारले सबै कार्यक्रम तत्कालका लागि एकाएक स्थगित गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तय भइसकेको राष्ट्रिय जनगणना २०७८ का तालिम लगायतका तत्कालका कार्यक्रम केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरस तीव्र गतिले बढिरहेका बेला घरघरमा पुगेर जनगणना गर्न अवस्था प्रतिकूल भएको देखाउँदै सरकारले जनगणना राष्ट्रिय अभियानका निर्धारित कार्यक्रम तत्कालका लागि रोक्न केन्द्रीय तथ्याङ्क विभागलाई भनेको हो ।

राष्ट्रिय योजना आयोगले सोमबार दिउँसो तथ्याङ्क परिषद्को बैठक डाँकेर सरकारले जनगणनाका तालिम लगायतका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी तथ्याङ्क विभागलाई गराएको हो ।

जनणनाका लागि तालिम तथा अन्य तयारी गरिरहेको केन्द्रिय तथ्याङ्क विभागले कोरोनाको कहरका बेला कार्यतालिका अनुरुप काम गर्ने÷नगर्ने निर्णयका लागि केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्सँग जवाफ माग गरेको थियो । विभागका सूचना अधिकारी तीर्थराज चौलागाईले भने, ‘हामीले सुपरिवेक्षकको लागि स्वास्थ्य मापदण्ड अपनाएर बैशाख १६ देखि तालिम गर्दै आएका थियौँ। तयारी पनि अगाडि बढिरहेको थियो। तोकिएको समयमा गर्ने नगर्ने भन्नेमा सरकारसंग निर्णय मागेका थियौँ।’

विभागले ९ हजार सुपरिवेक्षक छनोट गरी जिल्लातहसम्म तालिम दिइरहेको थियो। ‘सुपरिवेक्षकको तालिम पाँचौ दिन चलिरहँदा तालिम लगायतका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने सरकारले निर्णय गरेको हो, ।’ २०७८ सालको राष्ट्रिय जनगणना नेपालको इतिहासमा १ सय १० बर्षपछि गर्न लागिएको बाह्रौँ जनगणना हो । नेपालको इतिहासमा जनगणना कार्यक्रम प्रभावित बनेको यो नै पहिलो पटक भएको विभागको भनाइ छ । सूचना अधिकारी तीर्थराज चौलागाईका अनुसार २०५८ सालमा दरबार हत्याकाण्डका बेला केही दिन जनगणनाको तालिम पर धकेलिएको थियो ।

‘मेरो जनगणना मेरो सहभागिता’ नाराका साथ देशभर अभियानकै रुपमा सञ्चालन गरिन लागेको राष्ट्रिय जनगणना देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको हो । विभागले सोही अनुरुप तयारी अगाडि बढाएको थियो । ‘अब अर्काे तालिका बनाएर कहिलेदेखि सुरु गर्ने परिस्थिति निर्माण हुन्छ भन्न सकिने अवस्था छैन, तर पहिले तय गरे झै २०७८ आश्विन मशान्तसम्म नतिजा प्रकाशन नहुने निश्चित छ’, सूचना अधिकारी चौलागाईले भनेका छन् ।

जनगणनाको पहिलो चरण अन्तर्गत घर तथा घरपरिवारको सूचीकरण कार्य २०७८ बैशाख २६ देखि जेष्ठ १४ सम्म र दोस्रो चरण अन्तर्गत मुख्य प्रश्नावलीको विस्तृत विवरण संकलन (जनगणना) जेष्ठ २५ देखि असार ८ सम्म सञ्चालन गर्ने कार्यतालिका विभागको थियो ।

पहिलो चरणमा बैशाख २६ देखि जेठ १४ सम्म सुपरिवेक्षक मार्फत् घर परिवारको संख्या र घरको सूची तयारसँगै परिवारमा बस्ने पुरुष महिला तथा कृषि तथा पशुपालन गर्ने नगर्ने बारे विवरण संकलन गर्ने कार्ययोजना विभागले बनाएको थियो ।

जनगणनाको लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक खटाउने तयारी विभागले गरेको थियो । ३९ हजार गणकको आवेदन लिइसकेको विभागले नतिजा प्रकाशन गर्न बाँकी नै छ । बैशाख भित्रै गणकको नतिजा प्रकाशन गरी जेठ १७ देखि २२ सम्म तालिम दिने कार्यतालिका थियो ।

सरकारले यस आर्थिक वर्षमा मात्रै जनगणनाका लागि ४ अर्ब रुपैयाँ बजेट छुट्टाएको छ । जनगणनका लागि देशभर जिल्लागत तथा प्रदेशस्तरका गरी ८७ वटा कार्यालय स्थापना भइसकेका छन् । विभागले प्रचार प्रसारको कार्यक्रम पनि संगै अगाडि बढाउने तयारी गरिरहेको थियो ।