रासस

 काठमाडौं– स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिक कक्षबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिक कक्षबाहेकका सेवा बन्द गरिएकोे हो । ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको धनगढीमाई–९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिएका छन् ।

उक्त अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरपछि सिरहामा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । सङ्क्रमितमध्ये सात जना आइसोलेसनमा, एक जनाको विराटनगर, एक जनाको धरानमा उपचार भइरहेको छ भने बाँकी होम आइसोलेसनमा छन् ।