बुटवल – लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका चारवटा सरकारी अस्पतालमा बेड अभाव देखिएको छ । गम्भीर खालका बिरामीको उपचारका लागि भेन्टिलेटर, अक्सिजनयुक्त बेड लगायतका सुविधा नभएपछि नयाँ बिरामी भर्ना लिन नसक्ने भन्दै अस्पताल पन्छिन थालेको छ । धन हुनेले हेलिकोप्टर चार्टर गरेर बिरामीलाई काठमाडौं लैजाने, कतिपले आफैं अक्सिजनको जोहो गरेर अस्पतालमा भर्ना गर्ने, कोही पालो कुरेर बस्दाबस्दै भर्ना नपाएर ज्यान गुमाइरहेको स्वास्थ्यकर्मीहरु नै बताउँछन् । सैनामैना–३ की संक्रमित एक महिलालाई हेलिकोप्टर चार्टर गरेर परिवारले काठमाडौं लगेका छन् । केही दिन उपचार गरे पनि समस्या थपिएपछि आफन्तले उनलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगेका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हाल सम्म ५ सय ७० संक्रमितको मृत्यु भइसकेको छ । दैनिक १२÷१५ जनाका दरले संक्रमितको मृत्यु भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेश सरकारले पर्याप्त बेड, उपकरण र जनशक्तिको व्यवस्थापनमा ध्यान दिन नसकेको सर्वसाधारणको गुनासो छ । नवलपरासीको बर्दघाटबाट दाजुको उपचारका लागि बुटवल आएका राम चौधरीका अनुसार नेताहरु सत्ताका लागि मात्र केन्द्रीत रहे । कोरोनाको पहिलो लहर कम भएपछि दोस्रो लहर आउन सक्छ भन्नेबारे विश्वका अन्य मुलुकबाट पाठ सिकेर पूर्वतयारी गर्नुपर्नेमा प्रदेश सरकारले त्यसतर्फ पटक्क ध्यान नदिएको उनले बताए ।
प्रदेशमा यसअघिकै सीमित संरचनाले काम चलाइएको छ । एक वर्षअघि बनाउने भनिएका एचडियु बेड र जनशक्ति थप गर्ने योजना दोश्रो लहरले भयावह स्थिति सिर्जना भएपछि बल्ल अगाडि बढाइएको छ । बुटवलको कोरोना अस्पतालमा गत वर्ष नै थप गर्ने भनिएको एचडियु बेड बल्ल थप्ने काम भएको छ । प्रदेश सरकारले पर्याप्त बजेटको व्यवस्था नगर्दा पूर्वाधारसँगै कोभिड अस्पतालहरुले जनशक्तिको पनि अभाव झेलिरहेका छन् । बुटवलको कोरोना अस्पतालका स्वास्थ्यकर्मीहरुले तीन महिना देखि तलबभत्ता पाएका छैनन् ।