काठमाडौं– नेपालमा एक दिनमा अहिलेसम्मकै रेकर्ड सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५ हजार ७ सय ४३ जना सङ्क्रमित फेला परेका थिए । १४ हजार ४ सय ३ जनाको पीसीआर र ५ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ५ हजार ७ सय ६ र ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सङ्क्रमितको कूल संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ ।

नयाँ सङ्क्रमितमध्ये धेरै काठमाडौं उपत्यकामा रहेका छन् । काठमाडौं जिल्लामा मात्र १ हजार ९ सय ३२ जना सङ् क्रमित फेला परेका छन् भने ललितपुरमा ३ सय ५५ र भक्तपुरमा २ सय ८ जना सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा झापामा ५२ र सुनसरीमा ६९ जना सङ्क्रमित भेटिएका छन् भने प्रदेश २ मा पर्सामा सर्वाधिक १ सय ६३ जना सङक्रमित थपिएका छन् । गण्डकी प्रदेशको कास्कीमा २ सय १२, लुम्बिनी प्रदेशको बाँकेमा ५ सय ५१, रुपन्देहीमा ४ सय २२ र दाङमा २ सय ५१ जना सङ्क्रमित फेला परेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा ९७ जना सङ्क्रमित थपिएका छन् भने सुदूरपश्चिमको कैलालीमा १ सय २५ जना सङक्रमित फेला परेका छन् ।

नेपालमा हाल ४३ हजार २ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये होम आइसोलेसनमा ४० हजार १ सय ३ जना, संस्थागत आइसोलेशनमा ३ हजार १ सय १० जना, आईसीयूमा ४ सय १ जना र भेन्टिलेटरमा १ सय १० जना रहेका छन् । १२ वटा जिल्लामा ५ सयभन्दा बढी सङ्क्रमित उपचाररत छन् । जसमा काठमाडौं उपत्यका तीन जिल्लासहित मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । १७ वटा जिल्लामा २ सयभन्दा बढी सङ्क्रमित उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८७ जना सङ्क्रमित निको पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये २ लाख ८२ हजार ३८२ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ८५.९ प्रतिशत रहेको छ । पछिल्लो एक दिनमा थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ३ हजार २ सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।