लुम्बिनी– देशमा कोरोनाको सङ्क्रमण तिब्ररुपमा बढि रहेको बेला लुम्बिनी प्रदेशमा भने नयाँ सरकार गठनको रस्साकस्सी चर्केको छ । प्रदेशसभामा संख्यात्मक रुपमा विपक्षी दलहरु कमजोर हुँदै गएको भनिएता पनि मुख्यमन्त्री शङ्कर पोखरेललाई पदच्युत गर्न विपक्षी दलहरु कम्मर कसेर लागेका छन् । गणितीय रुपमा हेर्दा सत्ता पक्ष र विपक्षी दलहरुका सासंद् संख्या बराबर रहेको देखिएको छ । यस्तो अवस्थामा नयाँ सरकारको नेतृत्व कसले गर्ला भनेर आङ्कलन गर्न सक्ने अवस्था भने छैन । मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएर राजनीतिलाई नयाँ सिरामा मोडेका छन् । राजनीतिका चतुर खेलाडीका रुपमा दर्ज भएको केपी शर्मा ओलीका दाहिने हात मानिने पोखरेल अहिले काम चलाउ सरकारको मुख्यमन्त्री छन् । उनले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्तिका लागि कुनै पनि हतकण्डा अपनाउन सक्ने देखिन्छ । तर पनि उनका लागि फेरिपनि मुख्यमन्त्री बन्न फलामको च्यूरा सावित हुने देखिन्छ । एकल बहुमतको सरकार गठन गर्ने तयारीमा रहेका पोखरेललाई सांसद् विमला खत्रीले आफू नेकपा माओवादी केन्द्रमा सामेल हुने विज्ञप्ती नै निकाले पछि ठुलो झट्का लागेको छ ।
एमालेका ४१ जना सांसद् रहेको आधारमा एकल बहुमतको सरकार गठन गर्ने तयारीमा जुटेका पोखरेललाई सांसद् खत्रीले आफू एमालेमा नरहने लिखित जानकारी गराएसँगै उनको सपनामा तुसरापात हुने देखिन्छ । खत्री माओवादी केन्द्रमा सामेल भएसँगै प्रदेशसभामा एमालेको पक्षमा ४० जना सांसद् रहने छन् भने काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा गरी विपक्षी गठबन्धनमा पनि ४० सांसद् पुगेका छन् ।
विपक्षी गठबन्धनले ४० सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई भेटेर मुख्यमन्त्रीमा पोखरेललाई शपथ नगराउन ध्यानाकर्षण गराइसकेको छ । एमालेसँग ४० सांसद् रहेको र आफूहरुसँग पनि ४० सांसद् नै रहेको भन्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई एमालेसँग एकल बहुमतको सरकार गठन गर्ने आधार गुमिसकेको दावी गरेको छ ।
प्रदेश प्रमुखले भने सरकार गठनका लागि कसलाई बोलाउने हो भन्ने प्रस्ट भइसकेको छैन । तर काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानका अनुसार प्रदेश प्रमुखले आफू विधि, पद्धतिबाट बाहिर गएर कुनै पनि निर्णय नलिने बताएका कारण पनि विपक्षी दलहरुले गठबन्धनको सरकार बनाउन सक्ने अवस्था देखिन्छ ।