कोरोना कहर जारी छ । पहिलेभन्दा अझ बढी क्षति भइरहेको छ । अधिकांश अस्पताल भरिभराउ छन् । बेड पाउनै मुस्किल छ । बेड पाउन ‘एउटा मरेपछि अर्को बाँच्ने’ जस्तो भइसक्यो । मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, सङ्क्रमणरहित सरसफाई इत्यादि उपाय किन हामीले दैनिकीमा अवलम्बन गरेनौं ? जनजागरण अभियान व्यापक नै छ । सुरक्षित उपायहरू हामी सबैको कानसम्म पुगेकै हुनुपर्छ । तर पनि किन यस्तो हेलचेक्र¥याइँ ? यो लापरबाहीको परिणाम जगजाहेर नै छ । तर अझै ढिलो भएको छैन । हामी सबै सचेत हुनैपर्छ । खोप बढाउनैपर्छ । किनकी अनुसन्धानहरूले पनि सन् २०२४ सम्म यस्तै अवस्था रहने अनुमान गरेका छन् ।
हामीले अहिलेसम्म झन्डै साढे ३१ लाख डोज खोप पाइसके पनि लगाउनेको संख्या कम छ । अहिले आएर भिडभाड बढी भयो भनेर खोप कार्यक्रम स्थगित गरियो । यो औचित्यहीन छ । यस्तो बेला खोप कार्यक्रम अझ विस्तार तथा विकेन्द्रीकरण गरी व्यापक बनाइनु पथ्र्याे । खोप जति प्रभावकारी विकल्प अरू केही हुनै सक्दैन । इजरायल, अमेरिकामा खोप कार्यक्रम प्रभावकारी देखिँदैछ । त्यहाँ करोना पूर्ववर्ती जीवनशैलीमा फर्किन थालेका छन् । कोरोनाले सामाजिक गतिविधिसँगै आर्थिक गतिविधिलाई पनि संकुचित गराएको छ । कृषि, रोजगारी, आम्दानीमा पनि उत्तिकै प्रभाव परेको छ । कच्चा पदार्थ कमीले विभिन्न कलकारखाना सुस्ताएका छन् । कतिपय बन्द गर्नुपर्ने अवस्थामा आइसकेको छ । यसलाई सरकारले तुरून्तै सम्बोधन गर्नुपर्ने देखिन्छ ।
पहिलो कोभिड लहरमा करिब छ महिना आन्तरिक हवाई सेवा बन्द रह्यो । आम्दानी शून्य मात्रै होइन, जहाज हवाई कम्पनीहरू करौडौं खर्चिन बाध्य भए । यस अवधिमा आन्तरिक हवाई सेवाले करिब नौ अर्ब गुमाए । सयौं कर्मचारीको तलब कटौती भयो । कतिपयले रोजगारी नै गुमाए । आम्दानी घट्नु भनेकै भएको गरिबी बढ्नु हो । अब फेरि दोस्रो लहरको सुरूआतसँगै निषेधाज्ञा जारी भएको छ । यो लेख लेख्दासम्म १४ जिल्लामा निषेधाज्ञा भइसकेको छ, अझै कतिपय जिल्ला थपिनै क्रममा छन् । निषेधाज्ञासँगै आर्थिक गतिविधि फेरि संकुचित हुने निश्चित छ । निषेधाज्ञापछि सर्वसाधारण आफू अनुकूल ठाउँ वा वासस्थान फर्किनु स्वभाविक हो । यसपालि सरकारले हवाई सेवा बन्द नगर्नाले केही आश पलाएको छ । संसारभरि नै हवाई सेवा निरन्तर छ । अन्तर्राष्ट्रिय अभ्यासले पनि अन्य सवारीको दाँजोमा हवाई सेवा सुरक्षित रहेको देखिएको छ । अरू सार्वजनिक यातायात साधनमा जति प्रयास गर्दा पनि भिड कम गरी संक्रमण जोखिम घटाउनु गाह्रो काम हो । हवाई सेवामा यो मापदण्ड सजिलै पालना गर्न सकिन्छ ।
छिमेकी मुलुक भारतमा दैनिक संक्रमित संख्या तीन लाख पार गर्दा पनि हवाई उडान रोकिएको छैन । अझ जापानमा कोरोनाको चौथो लहर सुरू भए पनि उडान रोकिएन । बरू उडान कसरी सुरक्षित बनाएर सञ्चालन गर्ने भन्ने मुख्य कुरा रह्यो । नेपालका आन्तरिक उडान सुरक्षित छन् । अझ बुद्ध एयरले सुरूकै दिनदेखि अन्तर्राष्ट्रिय संस्थाको मापदण्ड बमोजिम संक्रमणरहित हवाई सुरक्षा निर्देशिका बनाएको थियो । नागरिक उड्डयन प्राधिकरणको निर्देशिकामा रहेर महिनौंसम्म पूर्वअभ्यास पनि गरेको थियो । जसको नतिजा निकै राम्रो रह्यो । पछिल्ला दिनमा आन्तरिक विमान सेवा प्रयोग गर्ने यात्रुको दैनिक संख्या १५ हजार पार गर्न थालेको थियो । बुद्ध एयरले मात्रै पछिल्ला दिनमा दैनिक आठ हजारसम्म यात्रु बोकेको रेकर्ड छ । आर्थिक गतिविधिमा मानिसको आउजाउलाई प्रमुख कारकको रूपमा लिइन्छ । तसर्थ हवाई उडानले तत्कालको समयमा थोरै भए पनि महत्वपूर्ण भूमिका खेलेको छ ।
निषेधाज्ञासँगै सुरक्षित तरिकाले बैंक, उद्योगधन्दा चलाउनुपर्छ अवधारणा निकै स्वागतयोग्य छ । यसका लागि सबै रोजगारमुखी उद्योगी व्यवसायी संक्रमणरहित कार्यसम्पादन तथा रोजगारीमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । बजेट आउने बेला भएको छ। सबै तप्काले आश गरेका छन् । सर्वसाधारणले महँगी नियन्त्रण, वृद्धवृद्धाले भत्ता वृद्धि, कर्मचारीले तलबमान वृद्धि त व्यापारीले विभिन्न शुल्क मिनाहादेखि ऋण कर्जामा सहुलियत खोज्नु स्वभाविक हो । यसै पनि पहिलो लहरले थलिएको हाम्रो अर्थतन्त्र कोरोनाको दोस्रो लहरसँगै ऋणात्मक भएको छ। दीगो आर्थिक पुनरूत्थानका लागि भए पनि सरकारले सावधानीपूर्वक आर्थिक गतिविधि खोल्नैपर्छ ।

एसियाली विकास बैंकले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर ३.८ प्रतिशत मात्र हासिल गर्न पनि अब अर्थतन्त्र चलायमान राख्नुपर्छ। निषेधाज्ञाले हरेक आर्थिक सूचकांक नकारात्मक हुने पक्कै छ । तसर्थ राष्ट्रिय अर्थतन्त्र चलायमान राख्न सुरक्षित तरिकाले उद्योग व्यवसाय सञ्चालन हुनुपर्छ । अनलाइन प्रविधि व्यापक प्रयोग हुनुपर्छ। कार्यालयमा रहेका पोकापन्तुरा, फाइलका ढड्डालाई अनलाइनमा ढाल्नुपर्छ । देशभरी करोना भाइरसबाट संक्रमणरहित आवतजावतको व्यवस्था हुनुपर्छ । जुन आजको दिनमा आन्तरिक हवाई सेवाले स्थापित गरिसकेको छ । फेरि पनि नबिर्सौं, आजका दिनमा कोरोनाविरूद्ध लडाइँमा सरकार होइन, आममानिस नै निर्णायक हो। नियन्त्रण गर्न सक्ने हामीले नै हो । यो नियन्त्रणबाहिर गए, दुःख पाउने पनि हामीले नै हो । त्यसैले, आफ्नो जिम्मेवारी वहन गर्न तपाईं हामी तयार हो कि होइन ?

(वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका प्रबन्ध निर्देशक हुन)