विराटनगर – सङ्खुवासभा कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा भएका छन् । तर प्रदेश १ का विभिन्न कारागारमा रहेका ३६ नेता कार्यकर्ता अझै छुट्न सकेका छैनन् । एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा रहेका माइला लामा बिहीबार २५ हजार धरौटीमा रिहा भएका हुन् । सरकार र विप्लव नेतृत्वको नेकपाबीच विप्लव समूह शान्ति प्रकृयामा आएसँगै कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने सहमति भएको थियो । तर प्रदेश १ का कारागारमा रहेका सो समूहका नेता–कार्यकर्ताको रिहाइ प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

 सरकार र विप्लव समूहबीच भएको सहमतिअनुसार गृह मन्त्रालयले विप्लव समूहका नेता, कार्यकर्ता रिहाइ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरिसकेको छ । प्रदेश १ का सबै जिल्ला प्रशासन कार्यालयले कारागारमा रहेका विप्लवका नेता कार्यकर्ताको संख्यासहितको रिपोर्ट मन्त्रालयमा पठाए पनि रिहाइको थप प्रक्रिया भने अघि बढेको छैन । विप्लव समूहको दोस्रो वरीयताका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’, पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, सेती महाकाली ब्युरो सदस्य विवेक कुमाललगायतका नेताहरु भने रिहा भइसकेका छन् ।

 मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गृह मन्त्रालयले मोरङ कारागारमा रहेका विप्लवका नेता तथा कार्यकर्ताको संख्या मागेको र सो संख्या पठाइएको जानकारी दिए । त्यसपछि गृहबाट आवश्यक प्रकृया पूरा गरी उनीहरुलाई रिहाइ गर्नू भन्ने कुनै परिपत्र या निर्देशन नआएको उनले बताए । निरौलाका अनुसार मोरङ कारागारमा विप्लवका पाँच नेता कार्यकर्ता छन् । विप्लव समूहसँग सरकारको सहमति भए पनि जघन्य अपराधमा मुद्दा चलेका नेता कार्यकर्ताको रिहाइमा कानुनी जटिलता रहेको उनले बताए । सरकारबाट मुद्दाको प्रकृति छुट्याएर हालसम्म राजनीतिक आस्थाका कारण मुद्दा लगाएका नेता, कार्यकर्ताहरूलाई छाडेको छ ।

हालसम्म सो समूहका ११ जना नेता, कार्यकर्ता छुटिसकेका छन् । प्रहरी प्रधान कार्यालयको रेकर्डमा विप्लव समूहका १ सय १४ जना नेता तथा कार्यकर्ता अझै थुनामा देखिन्छ । तीमध्ये प्रदेश १ का कारागारमा मात्र ३६ जना छन् । विप्लव समूहको मेची कोशी ब्युरो कमिटीका सदस्य विवश चौलागाईंले कारागारमा रहेका नेता कार्यकर्ताको रिहाइमा ढिला हुनु ठीक नभएको बताए । खाँदबारी कारागारमा विप्लव समूहका संखुवासभा जिल्ला इन्चार्ज देव गुरुङसहित १० नेता कार्यकर्ता रहेकोमा माइला लामामात्र रिहा भएको चौलागाईंले जानकारी दिए । विप्लवका केन्द्रीय नेता लामा २०७६ साउन ५ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई विभिन्न जिल्ला हुँदै संखुवासभा ल्याइएको हो ।
  जिल्ला अदालत चैनपुरले संगठित रुपमा हातहतियार ओसारपसार, संचय तथा प्रयोग मुद्दामा २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । २५ हजार धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुरले २०७६ साल फागुन ७ गते उनलाई कारागार चलान गरेको हो । लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघको अध्यक्षसमेत थिए । पार्टी विभाजनपछि उनी मोहन वैद्य हुँदै विप्लव समूहमा लागेका थिए । खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले माइला लामामात्र धरौटी बुझाएर रिहा भएको तर अरुको रिहाइबारे अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र नआएको बताए ।