काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल बैकल्पिक सरकार बन्न नसक्ने जनाएका छन् । उनले त्यस्तो सरकार गठन गर्न आफूहरुसँग आवश्यक संख्या नै नपुग्ने भएकाले त्यो सम्भावना नरहेको बताएका हुन् । शुक्रबार नीजि निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले बैकल्पिक सरकार गठनबारे सोधेको प्रश्नमा देउवाले वैकल्पिक सरकार गठन गर्न संख्या नै नपुग्ने बताए । ‘बहुमत चाहिन्छ कि चाहिँदैन ? बहुमत त चाहिन्छ नि !’, सभापति देउवाले भने, ‘अहिलेको अवस्थामा बैकल्पिक सरकार बन्न सक्ने अवस्था छैन । यद्यपी पहल जारी छ ।’

  उनले वैकल्पिक सरकार गठनका लागि तत्काल जसपाले निर्णय गरेर आउनेमा पनि आफु विश्वस्त नभएको बताए । ‘त्यसकारण यस्तो अवस्थामा तत्काल वैकल्पिक सरकार बन्ने अवस्था छैन ।’, देउवाले आफ्नो वेवास्ताका कारण सरकार बन्न नसकेको भनेर आरोप लगाउनेहरूलाई लगाइरहन दिनुपर्ने बताए । ‘आरोप लगाउनेहरूलाई मेरो भन्नु केही छैन । सबै कुरा भनिराख्न आवश्यक छैन । मैले गर्ने काम गरिरहेको छु’, सभापति देउवाको भनाइ छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले चैत २० गतेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न देउवाले रुची नदेखाएको बताउदै आएको छ । 

  पत्रकार सम्मेलनमा देउवाले कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र अक्षमाताको परिणाम दोस्रो लहरको कोरोना भयावह भएको बताए । उनले यसको रोकथामका लागि पार्टी पंक्ति लाई परिचालन गर्ने भन्दै सरकारलाई हिजो गरेका गल्ती नदोहोर्याउन र गम्भीर बन्न आग्रह गरे । उनले कोरोना टेस्ट नगरी गाउँमा मानिसहरु पठाएर सरकारले नै गाउँमा समेत कोरोना फैलाउने काम गरेको आरोप लगाए ।