काठमाडौं – निर्वाचन आयोगले जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको हो । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त मतदानस्थलमा प्रदेशसभा सदस्य १ सय १० जनाका लागि केन्द्र (क) र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २ सय ३८ जनाका लागि केन्द्र(ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ ।
त्यस्तै आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको आयोगले जनाएको छ ।