काठमाडौं– नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएसँगै सरकारले विद्यालयहरु बन्द गर्ने निर्देशन दिइसकेको छ । कोरोना कै कारण गत वर्ष पनि लामो समय अन्योलताका कारण करिब ८० लाख विद्यार्थी मनोसामाजिक समस्याबाट गुज्रिएका थिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लामो समयपछि गत वर्ष पनि विकल्प निकालेर विद्यार्थीको कक्षोन्नति गरेको थियो ।

 कोभिड १९ कै सङ्क्रमणका कारण जेठ मसान्तमा सक्ने भनी निर्धारित गरिएको वार्षिक परीक्षा अन्योलमा हुन पुगेको छ । एकातिर कोभिड १९ को त्रास अर्कोतिर परीक्षा कहिले होला भनेर अन्योलमा रहेका विद्यार्थीलाई निकास दिन मन्त्रालयले विद्यालयले सञ्चालन गर्ने आन्तरिक मूल्याङ्कनलाई आधारमानी विद्यालय तहको वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ ।

कक्षा ८, १० र १२ कक्षा वार्षिक परीक्षा बाहेक अन्य कक्षाको वार्षिक परीक्षा विद्यालयले नै गर्ने भएकाले आफ्नो आन्तरिक मूल्याङ्कनलाई आधार मानेर कक्षोन्नति गर्न सकिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन्  । विद्यार्थीलाई भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गराउन सम्भव नभएका कारण विद्यालयले आफ्नो अनुकूलतामा वार्षिक परीक्षा सञ्चालन गर्ने सक्ने उनले बताएका छन् ।