काठमाडौं – नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ । उपप्रधानमन्त्री पोखरेलले सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपील समेत गर्नुभएको छ । शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताउनु भएको छ । 
उहाँले अहिले लागू भएको निषेधाज्ञा कोरोना सङ्क्रमणको फैलँदो अवस्थाको चेन ब्रेक गर्न भएको बताउनु भयो । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाई छ । सरकारले लागू गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि स्पष्ट पार्नुभयो । कुराकानीका क्रममा उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाको लागि भएकोले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गर्नुभएको छ । 
 अहिले जनता आफैं पनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनु भयो । सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको हुँदा आम–नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न पनि आग्रह गर्नुभएको छ ।