काठमाडौं – काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । काठमाडौं महानगरपालिकाले बिहिबारदेखि महानगरबासिका लागि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहिबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नको निम्ति सम्झौता गरेको हो । निषेधाज्ञाको समयमा काठमाडौंबासिलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पताल सम्मको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् । 
 महानगरपालिकाले बैशाख १६ गतेदेखि १५ दिनसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने भएको हो । महानगरपालिकाले १५ दिनका लागि प्रति एम्बुलेन्स एकमुष्ट कर सहित १ लाख २१ हजार रुपैँया संयुक्त एम्बुलेन्स चालक संघलाई दिइने सम्झौतापत्रमा उल्लेख गरिएको छ । एम्बुलेन्सले काठमाडौं महानगरपालिका भित्र २४ सैं घण्टा सेवा प्रदान गर्ने जनाइएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले कहिँकतै बाट पनि गुनासो नआउने गरी सेवा दिन एम्बुलेन्स चालकहरुलाई आग्रह गरेका छन्  ।