विराटनगर – प्रदेश १ मा सरकारीस्तरमा सञ्चालित कोरोना विशेष अस्पतालले कोरना सङ्क्रमित नयाँ बिरामीलाई भर्ना लिन छाडेका छन् । अस्पताल आउने सबैजसो गम्भीर प्रकृतिका बिरामी भएकाले त्यस्ता बिरामीका लागि आवश्यक अक्सिजनसहितको बेड अभावमा भर्ना लिन छाडिएको हो । सरकारी अस्पतालमा भर्ना लिन छाडेपछि निजी अस्पतालमा सञ्चालित कोभिड–१९ उपचार केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ । प्रदेश १ का तीन ठुला अस्पतालले अहिले छुटै कोभिड उपचार केन्द्र सञ्चालन गरी सङ्क्रमितहरुको उपचार गरिरहेका छन् ।

 झापाको बिएण्डसी, विराटनगरको नोबेल र विराट शिक्षण अस्पतालले सञ्चालनमा ल्याएको कोभिड युनिटमा गम्भीर खालका सङ्क्रमितहरु भर्ना भएका छन् । उनीहरुलाई अक्सिजनको सहायतामा उपचार गरिरहेको ती अस्पतालले जनाएका छन् । प्रदेश सरकारले सञ्चालन गरिरहेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक सय ८० बेड छन् । तीमध्ये ३२ बेडमा मात्र बिरामी छन् । अक्सिजनसहितको ३२ बेडमात्र रहेकाले थप गम्भीर खालका बिरामी भर्ना गर्न नसकिएको अस्पताल प्रशासनको भनाइ छ । सरकारी अस्पतालले भर्ना लिन नमानेपछि बिरामीहरु बाध्य भएर निजी अस्पतालतिर जानु परेको छ ।
  निजी अस्पतालमा उपचार गर्दा उपचार शुल्क बिरामीले नै तिर्नुपर्छ । सरकारी अस्पतालमा भने निःशुल्क उपचार हुँदै आएको छ । विराटनगरस्थित विराट शिक्षण अस्पतालको कोभिड अस्पतालमा ६०, नोबेल अस्पतालको कोभिड अस्पतालमा १७ र झापाको बिएण्डसी अस्पतालको कोभिड युनिटमा ३ जना गम्भीर खालका सङ्क्रमितको उपचार भईरहेको छ । विराटनगर शिक्षण अस्पतालका निर्देशक डा.डेनिस कार्कीले कोरोनाको दोस्रो लहर सुरु भएसँगै अक्सिजनसहितको छुट्टै १ सय २० बेडको कोभिड युनिट सञ्चालनमा ल्याएकोमा अहिलेसम्म ६० जना गम्भीर खालका सङ्क्रमित भर्ना भई उपचाररत रहेको बताएका छन् ।

उनले केही दिनयता कोरोना संक्रमण दर ह्वात्तै बढेकाले संक्रमितहरु अस्पतालमा भर्ना हुने क्रम पनि बढेको बताए । अस्पतालले अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने सङ्क्रमितलाई मात्र अस्पताल भर्ना गरेको उनले बताए । ‘अस्पतालको आफ्नै पिसिआर मेसिन छ,’ निर्देशक कार्कीले भने, ‘दैनिक परीक्षणमा १ सय जना जतिमा कोरोना सङ्क्रमण देखिएको छ ।’ गम्भीर खालकालाई अस्पताल भर्ना गरेर अरुलाई होम आइसोलेशनमा पठाउने गरेको उनले बताए ।

 नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले पनि केहीदिन यता कोरोना सङ्क्रमण भएर गम्भीर खालका स्वास्थ्य समस्या भएका बिरामीहरु अस्पताल आउने क्रम बढेको बताए । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै वैशाख १० गतेबाट विराटनगरका निजी अस्पतालहरूले सङ्क्रमितको उपचारका लागि छुट्टै कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याएका हुन् ।