काठमाडौं – नेकपा (एमाले) का खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुधबार मध्यान्ह १२ बजेदेखि कलङ्कीस्थित मेगा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन् । नेताका अनुसार बैठकमा आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै एकलौटी निर्णय लिएपछि खनाल–नेपाल समूह आन्तरिक रणनीति बनाउन जुटेको हो ।

केन्द्र बाहेक खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनलाई जारी राखेको छ । ओलीले पार्टी कमिटी गठन गर्दा आफूलाई अलग राखेपछि अब कसरी अगाडि बढ्ने भन्नेमा खनाल नेपाल पक्ष अलमलमा छन् । खनाल–नेपाल पक्षमा केही नेताहरु समानान्तर अभ्यास जारी राखेर एमालेमै संघर्ष गर्नुपर्ने पक्षमा छन् भने केहीले नयाँ पार्टी निर्माण गरेर जानुपर्ने मत राख्दै आएको पाइन्छ ।

नयाँ पार्टी गठनपछि पनि त्यसलाई माओवादी केन्द्रसँग कार्यगत एकता मात्र गर्ने वा एकता नै भन्नेमा पनि खनाल–नेपाल पक्ष एकमत छैनन् । यता पार्टी अध्यक्ष ओलीले कारबाही प्रक्रिया पनि सुरु गरेकाले खनाल–नेपाल पक्ष सङ्कटमा छ । नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ । यता संघीय संसदमा २७ जना सांसदलाई कारबाही गर्ने ओलीको तयारी छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर ४ जना सांसद पार्टीबाट निष्कासित भइसकेका छन् ।