काठमाडौँ – नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । नेताहरुलाई कोरोना सङ्क्रमण भएपछि बैठक स्थगित गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिएको छ । यस्तो स्थितिमा कोरोनाको तीव्र सङ्क्रमण बढिरहेको बेला ठूलो संख्यामा उपस्थित भई बैठक गर्नु उपयुक्त नदेखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको हो ।  
 कांग्रेसका को–को नेतालाई सङ्क्रमण भएको भन्ने खुलाइएको छैन । यसअघि सोमबार बस्ने भनिएको बैठक पीसीआर परीक्षणपछि बस्ने भन्दै बुधबारका लागि सारिएको थियो । तर केही केन्द्रीय सदस्यहरुलाई सङ्क्रमण देखिएपछि आज स्थगित गरिएको छ, भने बैठकको अर्काे मिति तय गरिएको छैन ।