काठमाडौं — जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरु आज छलफलमा बसेका छन् । पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आज विहान शीर्ष नेताहरुबीच छलफल भएको हो । जसपाका एक नेताले भने, ‘त्यस्तो औपचारिक बैठक होइन । शीर्ष नेताहरु बीच अनौपचारिक छलफल भएको हो’ । छलफल अनौपचारिक भएकाले कुनै निर्णय नभएको समेत ती नेताले बताएका छन् ।


उनका अनुसार, छलफलमा शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतो, र राजेन्द्र श्रेष्ठ पनि सहभागी भएका थिए । वर्तमान सरकार परिवर्तन गर्ने वा कायमै राख्ने भन्नेमा जसपाले प्रष्ट निर्णय गर्न सकेको छैन । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पनि जसपाको निर्णय कुरेर बसेको छ ।