काठमाडौं– लकडाउनले देशको अर्थतन्त्रमा दिएको चोट निको नहुँदै निषेधाज्ञामा जाने अर्को निर्णय भएको छ । यसले व्यापार व्यवसायदेखि देशको समग्र आर्थिक गतिविधिलाई रोगी बनाउने भन्दै अर्थविदहरुले चिन्ता व्यक्त गरेका छन् । तङ्ग्रिन थालेको अर्थतन्त्र पुनः रोगी बन्ने विश्लेषण अर्थविद्हरुको छ । कोरोनालाई त लकडाउनले कम गर्ला, तर बिरामी अर्थतन्त्रलाई केले बचाउने भन्दै विज्ञहरुले निषेधाज्ञाको आलोचना गरेका छन् । अर्थविद् केशव आचार्य अर्थतन्त्रको दृष्टिकोणबाट निषेधाज्ञा कुनै पनि हालतमा राम्रो नभएको तर्क गर्छन् । यद्यपि बढ्दो महामारी नियन्त्रणमा निश्चित ठाउँका निषेधाज्ञाबाहेक अरू विकल्प सरकारसँग नभएको उनको बुझाइ छ । अर्थविद् प्राडा डिल्लीराज शर्मा पनि निषेधाज्ञाका कारण अब अर्थतन्त्र जोखिम अवस्थामा पुग्ने बताउँछन् । बल्ल–बल्ल तङ्ग्रिन थालेको अर्थतन्त्र फेरि अस्वस्थ हुन्छ ।

   अर्थविद् केशव आचार्य भन्नुहुन्छ,–अर्थतन्त्रको दृष्टिकोणबाट निषेधाज्ञा कुनै पनि हालतमा राम्रो होइन । तर, बढिरहेको महामारी नियन्त्रण गर्न ठाउँअनुसारको कदम चाल्नुको विकल्प पनि छैन ।  निषेधाज्ञा देशव्यापीरूपमा गर्नुहुँदैन । उच्च सङ्क्रमण भएको स्थानमा मात्र  गर्नुपर्छ । उद्योग कलकारखाना बैङ्क पूरै बन्द नगरी कम्तिमा आधा जनशक्ति वा आलोपालो प्रणालीबाट काम सुचारु राख्न दिँदा केही राहत मिल्छ । फेरि पनि काबुभन्दा बाहिर गएको अवस्थामा लकडाउनको विकल्प हुँदैन भन्ने मलाई लाग्छ  । तर, यसबाट बौरिन थालेको अर्थतन्त्र फेरि अस्वस्थ हुन्छ । स्कुल, कलेज, सिनेमा हल पहिलेदेखि नै बन्द छन् । गत वर्षकै लकडाउनले व्यवसायी मर्कामा थिए ।  बैङ्कबाट लिएको लोन अझै तिर्न सकेका छैनन् । सरकारले सबै सहुलियतका लागि राष्ट्र बैङ्कको मात्र मुख ताकेको छ । 
   राष्ट्र बैङ्कले धेरै गरिसक्यो, अब सरकारले नै पहल गर्नुपर्छ । पहिलाको जस्तो खाद्यान्न बाँड्नेभन्दा पनि उनीहरुलाई केही रकम बाँड्न सकिन्छ । खाद्यान्न पसल बन्द नभएपछि उनीहरुको आवश्यकताको कुरा किनेर चलाउँछन् । सबैभन्दा मारमा तल्लो तहका कर्मचारी पर्छन् । किनभने, कर्मचारी कटौतीमा सबैभन्दा पहिलो प्राथमिकतामा उनीहरु नै पर्ने गर्छन् । अहिले जथाभावी भएको रकमान्तर (एउटा शीर्षकलाई दिएको बजेट अर्कोमा खर्च गर्नु)  त्यही राहतका लागि खर्च गर्न सकिन्छ । काठमाडौँमा सार्वजनिक यातायात बन्द गरेपछि त्यसको सहचालक र चालकलाई के दिने सरकार स्पष्ट हुनु जरुरी छ । अर्थतन्त्र भयावह जोखिममा जाने देखिन्छ । 

    अर्थविद् प्रा.डा. डिल्लीराज खनालका अनुसार, भर्खर अर्थतन्त्रले लय समात्न लागेको थियो । केही क्षेत्र अगाडि बढ्न थाले पनि केही क्षेत्र अझै उठ्न नसकेका बेलामा लकडाउन अथवा निषेधाज्ञाले अर्थतन्त्रलाई जोखिममा धकेल्दैछ । फेरि पनि लकडाउन गर्नुपर्ने स्थितिले अर्थतन्त्रमा भयावह जोखिम देखिएको छ । यसअघिको लकडाउनमा पनि सरकार आफैंलाई दैनिक खर्च धान्नै सकस परेको थियो । अब फेरि त्यही स्थिति आउन सक्छ । सरकारको राजस्व गुम्न सक्छ । सबैभन्दा बढी रोजगारी सिर्जना गरेका साना तथा मझौला उद्योग, यातायात लगायत क्षेत्र नराम्ररी प्रभावित बन्छन् । तल–तलसम्म होटल खोलेर अर्थतन्त्रलाई नयाँ ढङ्गले अगाडि बढाउन खोजिरहेकाहरु नराम्ररी प्रभावित हुनेछन् ।

व्यापक खर्च कटौती गरेर राहततिर लगाउनुपर्नेमा सरकारले त्यसो पनि गर्न सकेन । विगतबाट पाठ सिक्न नसकेको सरकारले अर्थतन्त्रमा लात हान्ने प्रयास गरेको छ ।