काठमाडौं–वीर अस्पतालको नयाँ भवनलाई कोभिडका बिरामीमात्र उपचार गर्ने गरी तयार पार्न काम अघि बढाइएको छ । अस्पतालका कोभिड संयोजक डाक्टर अच्युतराज कार्कीले अस्पतालको नयाँ सर्जिकल ब्लकमा कोभिडका मात्र बिरामी राख्ने गरी काम अघि बढाइएको जानकारी दिएका छन् ।

नयाँ भवनमा अहिले पनि निर्माणको कार्य चलिरहेको हुँदा ठेकेदारहरूसँग कुराकानी भइरहेको भन्दै डा. कार्कीले सकेसम्म छिटो तयार पारिने जनाएका छन् । उनले नयाँ भवनमा कम्तीमा दुई सय बेड सञ्चालन गरिने र त्यसलाई बढाएर तीन सयसम्म पु¥याउन सकिने बताए । नयाँ भवनमा कोभिड सेवा सुचारू गर्नका लागि स्टाफ नर्स र सरसफाइ कर्मचारीको भने अभाव रहेको डा. कार्की बताउँछन् ।