काठमाडौं — सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले जानकारी दिनुभएको छ । कोभिड–१९को बढ्दो सङ्क्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश गर्दै उपत्यकासहित ठूला शहरहरूमा विद्यालय बन्द गरेको सरकारले चालु परीक्षाहरू नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भीडभाड भएको भन्दै सीसीएमसीले तत्कालका लागि सबै परीक्षा रोक्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकले सङ्क्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिश गरेको छ । पहाडमा २ सय र शहरी क्षेत्रमा ५ सय संक्रिय सङ्क्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिश गरिएको एक अधिकारीले जानकारी दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबारको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ । यस्तै हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिश गरेको छ । ट्रान्जिट उडान रोक्न र स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्न सिफारिश भएको छ ।