काठमाडौं — मास्क नलगाउनेहरूलाई राख्न प्रहरीले काठमाडौंका सडकहरुमा ‘होल्डिङ जोन’ बनाएको छ । कीर्तिपुरमा मात्रै १५ ठाउँमा यस्ता ठाउँहरु बनाइएका छन् । नयाँ बजार, पाँगा दोबाटोलगायत ठाउँमा होल्डिङ जोन बनाइएको हो ।
समुदायक प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी केन्द्र कीर्तिपुरले मास्क नलगार्ई हिँड्नेहरुलाई कारवाही गर्न होल्डिङ जोन बनाएको हो । मास्क नलगाई हिँड्नेलाई उक्त होल्डिङ जोनमा १५ मिनेटसम्म उभ्याइन्छ । होल्डिङ जोनमा राखेर सम्झाइ बुझाइ गरेर प्रहरीले छाड्ने गरेको छ । काठमाडौंमा पनि पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमितहरु बढेका छन् ।
आइतबार काठमाडौं उपत्यकामा मात्रै १ हजार १ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । भिडभाड कम गर्न काठमाडौं उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरू पनि अत्यावश्यक कामबाहेक बन्द गरिएका छन् ।