काठमाडौं — संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सरकारको निर्णय अक्षरस पालना गर्दै सबै परीक्षा स्थगित गरेको जानकारी दिएको छ । प्याब्सन अध्यक्ष टिका पुरीले सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको बताएका छन् । यदि कसैले परीक्षा गराएको पाइएमा नियम संगत नहुने समेत बताएका छन् ।
एन प्याब्सन आवद्ध विद्यालय भने केहीले आजको परीक्षा यथावत नै राखेको र केहीले स्थगित गरेको पाइएको परीक्षा समिति अध्यक्ष प्रबोद रिजालले बताएका छन् । सरकारको निर्णय ढिलो आउँदा कतिपय विद्यालयले आजको परीक्षा संचालन गरिरहेको र भोलिदेखिको परीक्षा गर्ने÷नगर्नेबारे आज छलफल गरेर निर्णय गर्ने पनि उनले बताएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दा पनि कतिपय विद्यालयले आन्तरिक परीक्षा धमाधम लिइरहेको अभिभावकहरुको गुनासो रहेको छ । यसैबीच त्रिभुवन विश्वविद्यालयले आजका लागि पूर्वनिधारित परीक्षा सन्चालन हुने जानकारी दिएको छ । भोलिका लागि तोकिएको परीक्षा गर्ने÷नगर्नेबारे आज छलफल गरेर निर्णय गर्ने त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहालले जानकारी दिएका छन् ।