काठमाडौं — मन्त्रिपरिषदको नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ५ बजे बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार आजको बैठक कोरोना भाइरसको महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुने भएको छ ।
आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा पनि ३ साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । सीसीएमसीको बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै पहाडमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय सङ्क्रमित भएमा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्ने ज्ञवालीले जानकारी दिनुभएको छ ।