काठमाडौं — कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन समिति (सीसीएमसी)को निर्देशक समितिको बैठक आज अपरान्ह ३ बजे बस्दैछ । शनिबार प्रधानमन्त्री ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले सङ्क्रमण बढी देखिएका क्षेत्रमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो । त्यही विषयमा छलफल गर्नको लागि आज सिंहदरबारमा निर्देशक समितिको बैठक आह्वान गरिएको हो ।

सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बैठक बोलाइएको पुष्टि गरेका छन् । बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने भएको छ । यसैबीच, आज दिउँसो बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै निर्देशक समितिका सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि तत्काल देशव्यापी लडडाउनको सम्भावना नरहे पनि आशिंक लकडाउन हुनसक्ने जानकारी दिएका छन् ।