काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु आफैं कमजोर हुँदै गएको अभिव्यक्ति दिनुभएको छ । शनिबार पुनर्निर्मित ऐतिहासिक धरहराको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुँदै गएको बताउनु भएको हो । उहाँले नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुँदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरू दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु कमजोर हुँदै गएको बताउनु भएको छ । 

उहाँले भन्नुभएको छ – ‘लोकतन्त्र सुदृढ हुदै गएको छ, लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु कमजोर हँुदै गएका छन्  र विभिन्न प्रकारले देश, जनता , विकास, समृद्धि र जनताको सुखसँग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाइरहेका छन् ।’ धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उहाँले आ–आफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आह्वान गर्नुभएको छ । 

पुनर्निर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सर्तकता अपनाउँदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिइएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निर्माण सम्पन्न भएको तर्क समेत गर्नुृभएको छ ।