बैशाख ११– सिके राउत नेतृत्वको जनमत पार्टी अगामी निर्वाचनको तयारीमा जुटेको छ । त्यसका लागि सो पार्टीले चुनाव लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय नै गरेको छ । अध्यक्ष राउतले नेता तथा कार्यकर्तालाई उम्मेदवार बन्नका लागि तयार रहन निर्देशन समेत दिएका छन् । धनुषाको हारसर जीवन केन्द्रमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकमा उनले पार्टीलाई चुनावमा जिताउने लक्ष्यका साथ काम गर्न निर्देशन दिएको पार्टीका उपाध्यक्ष दीपक साहले जानकारी दिएका छन् । 
 जनमत पार्टीको २० वटा जिल्लामा सङ्गठन रहेको छ । २० जिल्लाको हरेक वडादेखि पालिकामा तथा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेको छ । सोही अनुसार आन्तरिक रुपमा उम्मेदवार छनौटको कार्यक्रम पनि सुरु भएको उपाध्यक्ष साहले बताएका छन् । उनका अनुसार, ‘पार्टी चुनावमा गएपनि सबै शीर्ष नेता चुनाव लड्नु हुन्न, एक दुईजना पार्टी सञ्चालनका लागि पनि बस्नुहुन्छ, सबै जना चुनाव लडेर सांसद वा पालिका अध्यक्ष वा सदस्य हुनुभयो भने पार्टी सञ्चालन गर्न गाह्रो हुने भएकाले शीर्ष नेतामध्ये एक दुईजना चुनाव नलड्ने सोच बनिरहेको छ । तर निर्णय भएको छैन ।’ 

 राउत धनुषाबाट चुनाव लड्ने गरी छलफल भइरहेको छ । उनी सप्तरीका भएपनि आफूलाई जनकपुर केन्द्रीत गरेका छन् । यद्यपी धनुषाको कुन क्षेत्रबाट चुनाव लड्ने भन्नेमा छिट्टै टुंगो लाग्ने नेताहरु बताउँछन् । निर्वाचन आयोगको मतदाता नामावलीमा नाम लेखाउन पनि जनमत पार्टीले अभियान चलाउने निर्णय गरेको छ । त्यसका लागि हरेक वडाबाट कम्तीमा ३० जना स्वयंसेवक परिचालन गर्ने निर्णय भएको छ । त्यसका साथै जिल्ला कार्यकारिणी समितिको निर्वाचन जेष्ठ मसान्तसम्ममा केन्द्रीय निर्वाचन समितिले एकैदिन सबै जिल्लामा गराउने; सोभन्दा अगाडि सम्पूर्ण वडा र पालिका अधिवेशनहरू पूरा गरिसक्नुपर्ने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले जानकारी गराए । हरेक वडा÷पालिकाले आफ्ना समिति सदस्यहरूलाई भर्चुअल प्रशिक्षण दिने निर्णय बैठकले गरेको  छ । 

 पार्टीका विशेष समितिहरू, भ्रातृ संगठन, मोर्चा तथा विभागहरूको पुनर्गठन गर्ने तथा विभिन्न तहमा इन्चार्ज तोक्ने जिम्मेवारी बैठकले राउतलाई दिएको छ । सो क्रममा जनमत पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित तथा मनोनित केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको थियो ।