काठमाडौं– नेपालमा १९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कोरोना महामारीले नेपालको शिक्षामा पारेको असरसम्बन्धी लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धानले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

शुक्रबार शिक्षा मन्त्रालयका सहसचिव डा. हरि प्रसाद लम्सालको अध्यक्षतामा बसेको भर्चुअल कार्यक्रममा अक्सफोर्ड विश्व विद्यालयकी अनुशन्धानकर्ता डा.उमा प्रधानले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा बन्दाबन्दीको समयमा ७४ प्रतिशत विद्यार्थीले मोबाइल, १४ प्रतिशतले टेलिभिजन, ६ प्रतिशतले गुगल, २६ प्रतिशतले युट्युब र अध्ययन अध्यापनका लागि रेडियोको प्रयोगनै नगरेको देखाएको छ ।

प्रतिवेदन सार्वजनिक भएपश्चात शिक्षा मन्त्रालयका सहसचिव डा. हरि प्रसाद लम्सालले कोभिड महामारी पश्चात नेपालको शिक्षामा परेको प्रभावलाई न्यूनिकरण गर्न मन्त्रालयको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने र स्थानिय निकायलाई समेत विद्यालय शिक्षा सुधारको लागि निर्देशन दिने प्रतिवद्धता जनाएका छन् । यसका साथै नेपालको शिक्षामा कोभिडले पारेको असरको विषयका सार्वजनिक भएको प्रतिवेदन निकै सान्दर्भिक रहेको र भविष्यमा यस प्रतिवेदनले नेपालको शिक्षा नीति बनाउन सहयोग गर्ने अपेक्षा समेत रहेको छ ।
त्यसैगरी लू निभाः बाल सरोकार समूहकी अध्यक्ष रुपा मुनाकर्मीले नेपालमा कोभिडका कारणले विद्यालय स्तरमा शिक्षण सिकाई बन्द भएपश्चात् प्रविधिको प्रयोगमा वृद्धि भएपनि अध्यन अध्यापन भने प्रभावकारी नभएको बताइन् ।
बालबालिकाको शिक्षाको अधिकारलाई सुनिश्चित गर्नको लागि नेपालमा कोभिडले शिक्षा क्षेत्रमा पारेको असरका विषयमा अनुसन्धान गरिएको लू निभाः बाल सरोकार समुहका कार्यकारी निर्देशक नरेन्द्र डंगोलको भनाई रहेको छ । त्यसैगरी कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले संघ संस्था र सरकारी निकायले मात्र नभई विद्यालय व्यवस्थापन समितिहरुले पनि कोभिडका कारण विद्यार्थीहरुमा परेका असर न्यूनिकरण गर्नको लागि आ–आफ्नो तर्फबाट भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।