काठमाडौं – राष्ट्रियसभाको जेठ ६ गते हुने उपचुनावमा एमालेले रामबहादुर थापा बादललाई नै उम्मेद्वार बनाउने भएको छ । नेकपा भंग भएपछि ओली पक्षीय एमालेमा लागेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले दल त्याग गरेको भन्दै पदमुक्त गरेको थियो ।
उक्त स्थानमा आउँदो जेठ ६ गतेका लागि तोकिएको उपचुनावमा आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटिको बैठकले बादललाई नै उम्मेद्वार बनाउने घोषणा अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् । उनी माओवादी केन्द्रका तर्फबाट बागमति प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए ।
अध्यक्ष केपी शर्मा ओलीले आफू अध्यक्ष भएको पार्टीमा कसैमाथि पनि अन्याय नहुने दाबी गर्दै बादललाई उम्मेद्वार बनाउने घोषणा समेत गरेका हुन् । यसैबीच एमालेमा लागेका राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि पदमुक्त गर्न माओवादीले प्रक्रिया अघि बढाएको छ ।