काठमाडौं — जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरुको बैठक आह्वान गरेका छन् । जसपा नेपालमा आन्तरिक विवाद बढ्दै गएको बेला अध्यक्ष ठाकुरले आफ्नो पक्षको रणनीति बनाउनका लागि तत्कालीन राजपा नेपालका सांसदहरुको बैठक आह्वान गरेका हुन् । सिंहदरबारमा जारी बैठकमा तत्कालीन राजपा नेपालकै सांसद महेन्द्र राय यादवलाई भने यस बैठकमा बोलाइएको छैन ।
सांसद महेन्द्र राय यादव उपेन्द्र यादवको पक्षमा गइसकेका हुनाले उनलाई बैठकमा नबोलाएको स्रोतले जानकारी दिएको छ । महेन्द्र राय यादवले आफूलाई बैठकको बारेमा जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । बैठक पूर्वराजपा नेपालको संसदीय दलको कार्यालयको बैठक कक्षमा बसिरहेको हो ।
यस्तै तत्कालीन जसपा नेपालका कार्यकारिणी सदस्य अनिलकुमार झा उपत्यका बाहिर रहेको कारण बैठकमा उपस्थित भएका छैनन्, भने शरत सिंह भण्डारी बैठकमा सहभागी हुने भनेपनि बैठकमा उपस्थित भएका छैनन् । ठाकुर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन्, भने सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव ओलीलाई समर्थन गर्न नहुने पक्षमा छन् ।
गत मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पुरा भएपछि लिखित सहमति जनाउने प्रतिवद्धता जनाइ सकेको कारण त्यसको बारेमा रणनीति बनाउन आफ्ना पक्षका सांसदहरुसँग छलफल गर्न लागि भएको जानकारी दिएका छन् । सरकारमा जाने र नजानेमा दुई धार देखिएपछि जसपामा विवाद चर्किँदै गएको छ ।