गत चैतमा प्रदेशकै उत्कृष्ट प्रहरी कर्मचारीका रूपमा प्रहरी निरीक्षक रोशन थापा छनोटमा पर्नुभएको छ । वाग्मती प्रदेश, प्रहरी कार्यालयले प्रत्येक महिना घोषणा गर्ने प्रदेशस्तरीय उत्कृष्ट प्रहरी कर्मचारीको चयन गर्ने क्रममा गत महिना उहाँ पर्नुभएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी कार्यसम्पादनस्तरमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले कार्यालयले कार्यविधि नै बनाएर प्रत्येक महिना प्रदेशस्तरीय उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ । प्रहरी निरीक्षक थापालाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढङ्गबाट सम्पादन गरेको, टेलिभिजन कार्यक्रम निर्माण, सम्पादन, सञ्चालनलगायत कार्यमा नियमित खटिई उत्कृष्ट श्रव्यदृष्य सामग्री समेटिएको टेलिभिजन कार्यक्रम निर्माण गरेको जनाइएको छ । प्रदेशअन्तर्गत २२ भन्दा बढी रेडियो स्टेशनबाट समेत पाक्षिक रूपमा ‘प्रहरी दर्पण’ कार्यक्रम प्रसारणको व्यवस्थाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको, प्रदेश प्रहरी प्रमुख र मातहत प्रहरी कार्यालय प्रमुखबीच भएको कार्यसम्पादन सम्झौताको मासिक प्रगति विवरणको मूल्याङ्कन गर्ने कार्यमा अहम् जिम्मेवारी निर्वाह गरेकाले उहाँलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ । यसैगरी मकवानपुरमा वडा प्रहरी कार्यालय हेटौंँडा सानो पोखराका कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट मकवानपुरकै उत्कृष्ट प्रहरी कर्मचारी बन्न सफल हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको मूल्याङ्कनका आधारमा विष्ट मकवानपुरका प्रहरी कर्मचारीमध्ये चैतको ‘बेष्ट पुलिस’ घोषित हुनुभएको हो । वडा तथा नगर क्षेत्रमा हुने घटना तथा दुर्घटना न्यूनीकरण, गैरकानूनीरूपमा हेटौँडा बसेका चिनियाँ नागरिक, हराएको मोटरसाइकल फेला पर्न देखाएको सक्रियता र हेटौंँडा–२ र ५ मा लागेको डढेलो नियन्त्रणमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालयले विष्टलाई जिल्लाकै उत्कृष्ट प्रहरी घोषित गरेको हो । विष्टलाई मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उत्कृष्ट पुलिसको प्रशंसापत्र प्रदान गर्नुभयो । यसअघि भक्तपुरमा रहँदा अनुसन्धानमा सबल उहाँको अनुसन्धानले भक्तपुर प्रहरी फरार प्रतिवादी पक्राउ गर्न सफल भएको थियो । अपाङ्गतालाई भेट्न जनप्रतिनिधि घरदैलामा वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र रहेका पूर्ण अशत्ताअवस्थामा रहेका अपाङ्गता भएकालाई भेट्न जनप्रतिनिधि र कर्मचारीसहितको टोली घरघरमा पुगेको छ । विभिन्न वडामा पूर्ण अशत्ताअवस्थामा रहेका अपाङ्गता भएकालाई भेट्न उपप्रमुख लामा, सम्बन्धित वडाका अध्यक्ष तथा सदस्य, उपमहानगरपालिकाका कर्मचारीसमेत अपाङ्गता भएकालाई भेट्न पुगेका हुन् । उपप्रमुख मीनाकुमारी लामा, सम्बन्धित वडाका वडाध्यक्ष, उपमहानगर पालिकाका महिला तथा बालबालिका महाशाखाका प्रमुख विष्णुकुमारी लामिछानेलगायतको टोली पूर्ण अशक्त अपाङ्गता भएकालाई भेट्न घरघरमा पुगेको हो । अपाङ्गता भएकालाई भेट्न जाँदा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सरसफाइका सामग्रीसमेत हस्तान्तरण गरिएको छ । हेटौँंडाका १९ वटा वडामा करीब २ सय पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति छन् । मकवानपुर क्याम्पसमा पठनपाठन बन्द वाग्मती प्रदेशको राजधनी हेटौँडस्थित मकवानपुर बहुमुखी क्याम्पसले वैशाखभर भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गरेको छ । क्याम्पसका अनुसार कोरोनाको दोस्रो लहरअन्तर्गत नेपाल सरकारले देशका मुख्य शहरमा शैक्षिक संस्थामा पठनपाठन बन्द गर्न गरेको निर्णयानुरूप नै क्याम्पस बन्द गरिएको हो । त्यसैगरी क्याम्पसले छात्रवृत्तिको परीक्षा तथा त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा भने यथावत् रुपमा सञ्चालन हुने र आगामी आइतबारदेखि अनलाइन कक्षा सञ्चालन हुने जनाएको छ । — रासस