काठमाडौं — धरहरा चढेर काठमाडौं शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो । मङ्गलबार टावरको साजसज्जाको सम्पूर्ण काम सकिने छ ।

यही वैशाख ११ गते ११ः०० बजे उद्घाटनको तयारी गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्म समय लाग्ने बताइएको छ । सम्पदा विज्ञ मानन्धरका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए ।

भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गर्नुभएको हो । निर्माण कम्पनीले निर्माणको काम दुई वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिले टावरको कामले मात्र पूर्णता पाएको छ । समग्ररुपमा अहिले ६० प्रतिशत मात्र काम सकिएको छ ।

धरहरा पुनःनिर्माणका योजना म्यानेजर श्याम श्रेष्ठका अनुसार आफूहरुले प्राधिकरणसँग थप २१ महीनाको समय माग गरेको तर आठ महीना मात्रै थपिएको छ । त्यसकारण थप समयभित्र सबै काम सक्न मुश्किल रहेको बताइएको छ । “धरहरा निर्माणको मुख्य काम सकिन्छ तर सौन्दर्यकरण र पार्किङको काम पनि धेरै रहेकाले फेरि समय थप्नुपर्ने हुनसक्छ”, म्यानेजर श्रेष्ठले भन्नुभयो । रमन कन्सट्रक्सनले ठेक्का पाएको धरहराको पुनःनिर्माणमा रु तीन अर्ब ४८ करोड लाग्ने बताइएको छ । निर्माणका लागि अहिलेसम्ममा रु दुई अर्ब १० करोड सकिएको बताइन्छ । पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो छ । त्यसमा दुई लिफ्ट पनि छन् । साथै एउटा परम्परागत भ¥याङ रहनेछ ।

लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिने व्यवस्था गरिने छ । बयालिस रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जल फोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहने छन् । धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश रहनेछ । धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतका सुविधा हुने छन् । गोश्वारा हुलाक भएको स्थानमा पार्क बनाउनका लागि अहिले उक्त भवन भत्काइसकिएको छ । पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ ।

धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भइरहेको छ । पुरातात्विक हिसाबले महत्व बोकेका काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ । धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनाका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । त्यहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । विगतको ११ तले धरहरा १९९० सालको भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तला रहेको थियो ।

ऐतिहासिक धरोहर धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गर्नुभएको हो । गोश्वारा हुलाक कार्यालयलाई अहिले बबरमहलको आपूर्ति व्यवस्था विभागको प्राङ्गणमा सारिएको हुलाक सेवा विभागका सूचना अधिकारी यज्ञराज भट्टले जानकारी दिनुभयो । गोश्वारा हुलाक ५० वर्षअघिदेखि सुन्धाराबाट सञ्चालित थियो । हुलाक भवन भएका ठाउँमा धरहराको तीनतले अण्डरग्राउण्ड पार्किङ बन्नेछ । हुलाकसँगै धरहरामा जोडिएको नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार विभाग पनि विस्थापन भएको छ । टक्सार विभागलाई बबरमहलमै वन विभागसँगै सारिएको छ ।

कर्मचारी सञ्चय कोष पहिलेकै स्थानमा रहेको छ भने त्यहाँ रहेको ढुङ्गे धारालाई थप संरक्षण गर्ने तयारीअनुरुप काम भइरहेको म्यानेजर श्रेष्ठको भनाइ छ । ऐतिहासिक ढुङ्गेधारा भएकाले त्यस धारामा निरन्तर पानी बग्ने व्यवस्था गर्न लागिएको छ । निरन्तररुपमा पानी बग्ने बनाइएपछि उक्त धाराबाट बगेको पानीका लागि ढलको व्यवस्था गरी त्रिपुरेश्वरमा निकास दिने तयारी छ ।