काठमाडौं — गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ । उहाँको पद गुमेसँगै गृहमन्त्री रामबहादुर थापा बादल मन्त्री पदबाट पनि स्वतः पदमुक्त हुनुभएको छ । नेकपा माओवादीले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो ।
सोही पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गृहमन्त्री रामबहादुर थापा बादलकोे राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गर्नु भएको हो । तिमिल्सिनाको निर्णयसँगै संसद सचिवालयले आज थापाको पद रिक्त भएको सूचना समेत प्रकाशित गरिसकेको छ ।
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका बादल सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र बनेपछि पूर्व माओवादी उहाँ एमालेतिरै लाग्नुभएको थिए । उहाँ पार्टीमा नफर्किएपछि माओवादीले दल त्यागको जानकारी गराएको थियो । माओवादी केन्द्रको सूचना अनुसार प्रतिनिधिसभाबाट माओवादीका ४ निर्वाचित सांसदको समेत पद गइसकेको छ । अर्को दलमा गएपछि दलत्यागसम्बन्धी व्यवस्था आकर्षित हुने भएकाले सोही अनुसार माओवादीले कारबाही गरेको हो ।