काठमाडौं — साढे चार दशकअघि स्थापना भएको कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षामा समस्या भएको छ । स्थापनाकालमा २३ जनाको दरबन्दी कायम भएको कारागारमा ९५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ४ सय १४ जना कैदीबन्दीहरु हुँदा थप समस्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले कारागारमा प्रहरी निरीक्षकको नेतृत्वमा एक प्लाटुन प्रहरी राख्न आवश्यक रहेको जानकारी दिनुभएको छ । “पाँच कैदीलाई यताउता लैजानु पर्दा १० प्रहरी खटिनुपर्ने स्थिति रहेको छ”, प्रहरी उपरीक्षक चर्तुवेदीले भन्नुभयो, “न त सुरक्षित भ्यान छ न त जनशक्ति थप ।”
कारागार प्रशासन र जिल्ला सुरक्षा समितिले पनि कारागारको अवस्था जीर्ण रहेको र नयाँ व्यवस्थापनमा पहल गर्न केन्द्रमा पत्राचार गरेता पनि अहिलेसम्म कुनै पनि सुनुवाइ भएको छैन । प्रहरी उपरीक्षक चर्तुवेदीले कारागारमै प्राथमिक स्वास्थ्य सुरक्षाको व्यवस्थासमेत हुनुपर्ने बताउनुभएको छ । “जिल्ला बाहिर कैदीबन्दी सार्नुपरे सुरक्षाकर्मीको अभाव हुने स्थिति रहेको छ”, उहाँले भन्नुभयो, “एक प्रहरी कर्मचारी कारागारमा २४ घण्टा ड्युटी गर्नुपर्ने बाध्यता रहेको छ ।”
त्यसैगरी कञ्चनपुर कारागारका जेलर माया बस्नेत थापाले अहिले कैदीबन्दीलाई टेन्टमा राख्नुपर्ने अवस्था आएको बताउनुभएको छ । “यहाँ ठाउँ नभएर ४ जना कैदीबन्दीहरु धनगढी र केही सङ्ख्यामा दाङ पठाउन माथि पत्राचार गरेका छौँ”, जेलर थापाले भन्नुभयो, “कारागार पुनःनिर्माण र व्यवस्थापन सुधारका लागि केन्द्रमा धेरैपटक लिखित र मौखिक पहल हुँदा पनि अझै केही पनि हुँन सकेको छैन ।”
उहाँले १५ महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा अहिले २५ जना महिला कैदीबन्दीहरु रहेको समेत जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो समय प्रहरीले लागुऔषध नियन्त्रणका लागि जिल्लाभर चलाएको अभियानअन्तर्गत ब्राउनसुगर, खैरोहिरोइनलगायत लागुपदार्थसहित दिनहुँजसो अभियुक्त पक्राउ परिरहेका छन् । त्यसैगरी यहाँ महिला हिंसा, जबर्जस्ती करणी, चोरी, ज्यान मार्ने उद्योगलगायत घटनाहरु बढी हुने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
“कारागारबाट कम्तीमा डेढ÷दुई सय कैदीबन्दी अन्य कारागार पठाउनुपर्ने देखिन्छ ।” प्रहरी उपरीक्षक चर्तुवेदीले भन्नुभयो, “कारागारमा खटिने प्रहरीलाई थप सशक्त बनाउन जरुरी छ ।”