काठमाडौं — प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक कोभिड– १९ को बढ्दो जोखिमका विषयमा केन्द्रित भएको छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय गरेको छ । तर, सङ्क्रमण फैलन नदिन सचेतना जगाउने र जनतालाई सजग गराउने मन्त्रिपरिषद्को निर्णय छ ।
क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बढ्दो जोखिमबारे सजग हुन र रोकथामका उपायहरु अवलम्बन गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

बालबालिकाहरुमा सङ्क्रमण देखिन थालेको र ११ वर्ष मुनिका बालबालिकाका लागि खोपको प्रबन्धसमेत नभएकाले सतर्क हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । विद्यालयहरु बन्द गर्न सीसीएमसीले सिफारिस गरे पनि सरोकारवालाहरुको रायलाई समेत ध्यान दिँदै तत्कालका लागि शैक्षिक संस्थाहरु बन्द नगर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । तर, विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गर्न भनिएको छ ।

कुनै शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था आएका जिल्लास्तरीय डीसीएमसीले नै स्थानीय तहको जोखिमको अवस्था हेरेर विशिष्ट रुपमा निर्णय लिन सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको स्रोतले बताएको छ ।
मन्त्रिपरिषदले तत्काल लकडाउन नगर्ने निर्णय लिएको छ । स्थानीय तहको स्थिति हेरेर भिन्नाभिन्नै ठाउँका लागि ठो निर्णय लिने बताइएको छ । तर, भीडभाडयुक्त ठाउँहरुको हकमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाइका साथ लागू गरिने मन्त्रिपरिषदको निर्णय छ ।

त्यसैगरी भारतीय सीमाबाट सङ्क्रमण भित्रिन सक्ने जोखिम बढेकाले नाकाहरुमा होल्डिङ सेन्टरहरु बनाउन मन्त्रिपरिषद्ले गृहमन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ । सोमबार साँझ बसेको क्याबिनेट बैठकको निर्णयअनुसार आज सीसीएसीका प्रमुखसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।

क्याबिनेटको निर्णयबारे जानकारी गराउन र जनतामा सचेतना जगाउनका लागि उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले संयुक्तरुपमा पत्रकारहरुलाई सम्बोधन गर्ने ती मन्त्रीले बताएका हुन् । तर, उपप्रधानमन्त्रीले आयोजना गर्ने भनिएको पत्रकार सम्मेलनको समय भने तय हुन बाँकी रहेको पोखरेलको सचिवालयले बताएको छ ।