काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट माओवादीका केही नेताहरुलाई एमालेमा प्रवेश गराइसक्नु भएको छ । अझै ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश गर्नको लागि तयारीमा रहेको प्रधानमन्त्री ओलीले आफू निकटलाई जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू देशैभरिका ३० भन्दा बढी माओवादी नेताहरुको नामलिस्ट नै बोकेर बस्नुभएको छ ।’ पूर्वएमालेका त्यागी नेताहरुलाई अवसर नदिएर भए पनि ओलीले नवप्रवेशीहरुलाई सत्तामा प्राथमिकता दिनुभएको छ ।
माओवादीमा रहेका सांसदहरुलाई एमालेमा तानेपछि माओवादीले उनीहरुलाई कारवाही गर्ने गरेको छ । यसले गर्दा संघ र प्रदेश दुबै ठाउँमा माओवादीे सांसदहरुको सङ्ख्या घट्दै गएको छ । अर्कोतर्फ, माओवादीबाट नेताहरु एमालेको ओली समूहमा प्रवेश गर्न थालेको सन्देश प्रवाह गरेर प्रधानमन्त्री ओलीले माओवादीप्रति मनोवैज्ञानिक प्रहारको नीति लिएको देखिन्छ ।
माओवादीका सांसदहरुको सङ्ख्या घट्दै जाँदा विपक्षी गठबन्धनको गणित कमजोर हुने र एमालेको सरकार टिकाउन सजिलो हुने विश्लेषण एमाले नेताहरुले गर्दै आएका छन् । बालुवाटार स्रोतले भन्यो, ‘अब यो क्रम जारी रहन्छ । निर्वाचनका बेलासम्म माओवादीका धेरै नेताहरु एमालेमा आउँछन्, प्रधानमन्त्रीजीले नेताहरुको सूची नै बनाइसक्नुभएको छ, समय आएपछि उनीहरुलाई पार्टी प्रवेशको घोषणा गराइने प्रधानमन्त्रीले बताउनुभएको छ ।’