काठमाडौं — चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जहरुमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन गरिएको छ । आइतबार साँझ दीपप्रज्वलन गरिएको हो । रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले गैँडा वृद्धिको खुसी साटासाट गर्दै सौराहाको गैँडाचोक र हात्तीचोकमा दीपप्रज्वलन गरेका हुन् ।
पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको एकसिङ्गे गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा क्रियाशील हुन ऊर्जा प्रदान गरेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा उत्साहितसँगै लगानी सुरक्षित भएको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, “गैँडा संरक्षणमा हामी सबैले गरेको प्रयास सफल भएको छ ।” कार्यक्रममा वडा नं ६ का अध्यक्ष बलराम दाहालले सौराहाको पर्यटन वन्यजन्तुमा निर्भर रहेकाले पर्यटनको मुख्य आधार नै एकसिङ्गे गैँडा रहेको बताउनुभयो ।
गणनाको क्रममा निकुञ्जको पूर्वी सेक्टरमा गैँडाको सङ्या वृद्धि भएको पाइएकाले अब आहार र बासस्थान संरक्षणमा काम गर्नुपर्ने उहाँहरूको भनाइ थियो । सन् २०१५ मा गैँडाको सङ्ख्या ६ सय ४५ रहेकोमा बढेर ७ सय ५२ पुगेको छ । चितवनमा ६ सय ५ बाट ६ सय ९४, बर्दियामा २९ बाट ३८ र शुक्लाफाँटामा ८ बाट १७ पुगेको छ । पर्सामा ३ वटा नै यथावत् रहेको छ ।