काठमाडौं — नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए अनुसार क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजन बैठकको एजेण्डा पनि रहेको छ । यसअघि चैत २० गतेको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय कार्यान्वयन नसकेपछि आजको बैठकले पुनः समय थप्न लागेको हो ।
क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले दिएको जानकारी अनुसार ७७ जिल्लामध्ये ७० जिल्लाको सदस्यता इन्ट्री भइरहेको छ । भने ७ जिल्लाको अझै सुरु नै भएको छैन । सिन्धुपाल्चोकसहितका जिल्लामा समायोजनमा नै विवाद हुँदा सदस्यता वितरणको लागि फर्म नै वितरणमा समस्या छ ।
कालिकोट, पाल्पा, हुम्ला र अर्घाखाँचीको मात्रै सदस्यताको प्रक्रिया सबै पुरा गरेका छन् । सदस्यता इन्ट्रीको काम ९० प्रतिशत सकेका जिल्लाको सङ्ख्या ३७ मात्रै रहेको बुझिएको छ ।
आजको बैठकले सदस्यता टुङ्ग्याउन अब अलि कडाई गर्ने र अब पनि नटुङ्गिए विकल्पमा जाने रणनीति बनाउने भएको छ । सदस्यताको टुङ्गो लगाइसकेपछि आगामी ५ असारबाट गाउँ नगरका वडाको अधिवेशन सुरु हुनुपर्नेछ । तर, सदस्यता जिल्लाले टुङ्ग्याएर पठाएपछि छानबिन समितिले हेर्ने, रुजु गर्ने र अन्तिम नामावली प्रकाशित गर्नका लागि सकस पर्ने देखिन्छ । यसले गर्दा असारको पहिलो हप्ताबाट अधिवेशन सुरु गर्नै समस्या देखिन्छ । यसलाई मध्येनजर गरी निर्णय लिने महामन्त्री खड्काले जानकारी दिनुभएको छ ।