काठमाडौं — काठमाडौं उपत्यकामा आज घोडे जात्रा मनाइँदैछ । यस घोडे जात्राको अवसरमा सरकारले काठमाडौंमा आज एक दिनको लागि सार्वजनिक बिदा दिएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यस जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहको आयोजना समेत गरेको छ । सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ ।
टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन शुरु भएको र त्यही प्रचलन अनुसार घोडेजात्रा मनाउन थालिएको जनश्रुति रहेको छ ।
घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्ने गर्दछ । ललितपुरमा भने एउटा आँखा नदेख्ने एक्लो घोडालाई दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।