काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । १४ औं महाधिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उहाँले बताउनुभयो । कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डाहरु समेत पदाधिकारी बैठकले तय गर्ने भएको छ ।
पूर्व पदाधिकारीहरुलाई पनि बोलाइएको यो बैठकमा नयाँ सरकार गठनका विषयमा समेत छलफल हुने अनुमान गरिएको छ । यसअघि चैत २७ गते कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग संयुक्तरुपमा छलफल गर्नु भएको थियो । सो छलफलमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव समेत गर्नुभएको थियो । यद्यपि छलफलले ठोस निष्कर्ष भने निकाल्न सकेको थिएन ।